YouVersion लोगो
खोज आइकन

मत्ती 21:19-32

मत्ती 21:19-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो। यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?” येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमा विश्‍वास छ र कहिल्‍यै शङ्का गरेनौ भने, अञ्‍जीरको बोटलाई जे गरियो त्‍यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्‍यौ भने सो हुनेछ। विश्‍वास गरेर प्रार्थनामा जे माग्‍छौ त्‍यो तिमीहरूले पाउनेछौ।” उहाँ मन्‍दिरमा प्रवेश गर्नुभयो, अनि उहाँले शिक्षा दिनुहुँदा मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू उहाँकहाँ आए, र भने, “कुन अधिकारले तिमी यी कामहरू गर्छौ, र कसले तिमीलाई यो अधिकार दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु। मलाई त्‍यसको उत्तर दियौ भने, म कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई बताउनेछु। यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट भयो? स्‍वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्‍दै बहस गर्न लागे, “स्‍वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भन्‍नेछन्‌। तर मानिसहरूबाट भनौं भने, हामीलाई मानिसहरूको डर छ। किनभने सबैले यूहन्‍नालाई अगमवक्ता हुन्‌ भनी मान्‍छन्‌।” यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामीलाई थाहा छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारले यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।” “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्‍यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’ त्‍यसले जवाफ दियो, ‘म जान्‍नँ।’ तर पछिबाट पछुताएर गयो। “दोस्राकहाँ आएर उसले त्‍यसै भन्‍यो। त्‍यसले जवाफ दियो, ‘म जान्‍छु।’ तर गएन। “अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌। किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:19-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। जब चेलाहरूले यो देखे, तिनीहरू छक्‍क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ। तिमीहरूले विश्‍वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनेर तिमीहरूलाई म भन्‍नेछु। यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्। यदि हामीले ‘मानिसबाट’ हो भन्यौँ भने हामीलाई मानिसहरूको डर छ; किनकि तिनीहरू सबैले यूहन्‍नालाई अगमवक्ता भनी मान्छन्।” त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” तब उहाँले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ। “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’ “त्यसले जवाफ दियो, ‘अहँ, म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो र गयो। “तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन। “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:19-32 पवित्र बाइबल (NERV)

उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो। चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?” येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।” येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?” येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?” मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।” त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।” तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु। “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’ “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो। “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन। “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?” यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्

मत्ती 21:19-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्‍यस रूखको नजिक जानुभयो, तर त्‍यसमा पातबाहेक केही थिएन। उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँमा कहिल्‍यै पनि फल नफलोस्।” त्‍यो नेभाराको रूख त त्‍यतिखेरै सुकिहाल्‍यो। यो देखेर चेलाहरूले छक्‍क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्‍यो?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्‍वास गर्‍यौ भने नेभाराको रूखलाई मैले गरेजस्‍तै गर्न सक्‍छौ र त्‍यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्‍यौ भने पनि त्‍यस्‍तै हुनेछ। यदि विश्‍वास गर्‍यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्‍यो पाउनेछौ।” येशूले मन्‍दिरमा शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। त्‍यस बेला मुख्‍य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्‍छ? यो अधिकार तपाईंलाई कसले दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्‍यो तिमीहरूलाई भन्‍नेछु। लौ भन, यूहन्‍नाले बप्‍तिस्‍मा दिने अधिकार कहाँबाट पाए, परमेश्‍वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्‍वरबाट भनौं भने ‘तिमीहरूले यूहन्‍नालाई किन विश्‍वास गरेनौ त?’ भनेर उनले सोधिहाल्‍नेछन्। यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्‍छ किनभने सबैले यूहन्‍नालाई अगमवक्ता हुन् भनेर मान्‍छन्।” यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्‍नुभयो, “त्‍यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्‍दिनँ।” अनि येशूले अझै भन्‍नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’। ‘म त जान्‍नँ!’ उसले बुबालाई भन्‍यो। तर पछि उसको मन फेरियो र काममा गयो। अनि बुबाले गएर अर्को छोरालाई पनि त्‍यसै भने। ‘हुन्‍छ, बुबा!’ त्‍यसले भन्‍यो। तर काममा चाहिँ गएन। अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्‍यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कर उठाउने र वेश्‍याहरू त तिमीहरूभन्दा पहिले परमेश्‍वरको राज्‍यमा पस्‍छन् किनभने बप्‍तिस्‍मा दिने यूहन्‍ना सत्‍य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्‍वास गरेनौ। बरु कर उठाउने र वेश्‍याहरूले चाहिँ विश्‍वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्‍ना पापलाई मानेर छोडेनौ र उनलाई विश्‍वास गरेनौ।”

शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्