बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्यस रूखको नजिक जानुभयो, तर त्यसमा पातबाहेक केही थिएन। उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँमा कहिल्यै पनि फल नफलोस्।” त्यो नेभाराको रूख त त्यतिखेरै सुकिहाल्यो। यो देखेर चेलाहरूले छक्क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्यो?” येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्वास गर्यौ भने नेभाराको रूखलाई मैले गरेजस्तै गर्न सक्छौ र त्यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ। यदि विश्वास गर्यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्यो पाउनेछौ।” येशूले मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। त्यस बेला मुख्य पूजाहारी र अरू अगुवाहरूले उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ दियौ भने मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। यदि मानिसबाट भनौं भने हामीहरूलाई मानिसहरूले मार्ने डर हुन्छ किनभने सबैले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्छन्।” यसकारण तिनीहरूले येशूलाई भने, “खै, हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।” अनि येशूले अझै भन्नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’। ‘म त जान्नँ!’ उसले बुबालाई भन्यो। तर पछि उसको मन फेरियो र काममा गयो। अनि बुबाले गएर अर्को छोरालाई पनि त्यसै भने। ‘हुन्छ, बुबा!’ त्यसले भन्यो। तर काममा चाहिँ गएन। अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कर उठाउने र वेश्याहरू त तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यमा पस्छन् किनभने बप्तिस्मा दिने यूहन्ना सत्य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्वास गरेनौ। बरु कर उठाउने र वेश्याहरूले चाहिँ विश्वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्ना पापलाई मानेर छोडेनौ र उनलाई विश्वास गरेनौ।”
मत्ती 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:19-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू