YouVersion लोगो
खोज आइकन

मत्ती 21:1-14

मत्ती 21:1-14 NCV

उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्‍नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।” अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो: “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ” ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो। एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्‍ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्‍ना।” जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।” येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’” दृष्‍टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

मत्ती 21 पढ्नुहोस्