YouVersion लोगो
खोज आइकन

मत्ती 21:1-14

मत्ती 21:1-14 सरल नेपाली

यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्‍ने ठाउँमा आइपुग्‍नुभयो। त्‍यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरू ऊ त्‍यो पल्‍लो गाउँमा जाओ। गाउँमा पस्‍नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्‍याओ। यदि कसैले तिमीहरूलाई केही कुरा भन्‍यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्‍नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्‍छन्।” अगमवक्ताले धर्मशास्‍त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्‍तो हुन आएको हो– “सियोनका बासिन्‍दाहरूलाई भनिदेओ, ‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ, उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्‍छ, उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।” ती दुई चेलाहरूले गएर येशूले अह्राउनुभएजस्‍तै गरे। तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्‍ना खास्‍टो ओछ्याइदिए अनि येशू चढ्‍नुभयो। मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए। येशूको अघि र पछि हिँड्‍ने सबै मानिसहरूले यसो भन्‍दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! सबैभन्दा माथि स्‍वर्गमा हुनुहुने परमेश्‍वरको जयजयकार होस्!” उहाँ यरूशलेममा पस्‍नुहुँदा सहरभरि नै हलचल मच्‍चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?” धुइरोमा भएका मानिसहरूले जवाफ दिए, “उहाँ त गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्‍छ।” येशू पवित्र मन्‍दिरमा जानुभयो अनि त्‍यहाँ किनबेच गरेर बस्‍नेहरू सबैलाई मन्‍दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्‍नेहरूका टेबिलहरू घोप्‍ट्याइदिनुभयो र परेवा बेच्‍नेहरूका बस्‍ने आसनहरू पल्‍टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!” त्‍यसपछि अन्‍धा र लङ्गडाहरू मन्‍दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

मत्ती 21 पढ्नुहोस्