YouVersion लोगो
खोज आइकन

मत्ती 19:13-30

मत्ती 19:13-30 NCV

तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदिऊन्, अनि तिनीहरूका निम्ति प्रार्थना गरिदिऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनकि स्वर्गको राज्य यस्तैहरूका हो।” येशूले हात तिनीहरूमाथि राखिसक्नुभएपछि उहाँ त्यहाँबाट गइहाल्नुभयो। एकजना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई कुन असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एकजना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।” त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू, आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू।’” त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गरेको छु। ममा अरू के कमी छ?” येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ, अनि तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ; त्यसपछि मलाई पछ्याऊ।” यो सुनेर त्यो जवान मानिस दुःखित भएर गइहाल्यो, किनकि ऊसित धेरै सम्पत्ति थियो। तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्‍न कठिन हुन्छ। म फेरि तिमीहरूलाई भन्दछु, कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” तिनीहरूतिर हेरेर येशूले भन्‍नुभयो, “मानिसहरूको लागि यो असम्भव छ; तर परमेश्‍वरको लागि त सबै कुरा सम्भव छन्।” पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौं; त्यसो भए हामीले के पाउनेछौ त?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्‍नेछन्, तिमीहरू पनि जसले उनलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्रओटा सिंहासनहरूमा बस्‍नेछौ। अनि जसले मेरो निम्ति घर वा दाजुभाइ अथवा दिदीबहिनीहरू अथवा बुबाआमा अथवा बालबच्‍चा वा जग्गाजमिन छोडेको छ, त्यसको सय गुणा र अनन्त जीवन पनि पाउनेछ। तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, अनि जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।

मत्ती 19 पढ्नुहोस्