त्यस बेला येशूले आफ्ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्काए। तर येशूले भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो।”
अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो।
एकपल्ट एक जना तन्नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्यू, अजम्मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?”
येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्छौ? असल त एउटै मात्र हुनुहुन्छ। तिमीले अजम्मरी जीवन पाउन चाहन्छौ भने परमेश्वरकै व्यवस्था पालन गर।”
तिनले सोधे, “कुन आज्ञाहरू भन्नुभएको?”
येशूले भन्नुभयो, “यिनै त हुन्– मान्छे नमार्नू, व्यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू। आमा-बुबाको आदर गर्नू अनि आफ्ना छरछिमेकीलाई पनि आफैंलाई जस्तै प्रेम गर्नू।”
तन्नेरी मानिसले भने, “यी सबै आज्ञाहरू त मैले मान्दै आएकै छु। अरू के गर्नुपर्छ?”
येशूले तिनलाई भन्नुभयो, “तिमी साँच्चै ठीक हुन खोज्छौ भने गएर भएभरको सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।”
यस्तो कुरा सुनेर ती तन्नेरी मानिस अँध्यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्पत्ति थियो।
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न धेरै गाह्रो छ। फेरि म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” चेलाहरूले छक्क पर्दै भने, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने कुरा हो, तर परमेश्वरबाट भने सबै कुरा हुन सक्छ।”
त्यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र त्यस नयाँ राज्यमा आफ्नो जगमगाउँदो राजसिंहासनमा बस्नेछ। त्यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्ना बाह्रवटा सिंहासनमा बस्नेछौ र इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ। मेरो लागि आफ्नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्गा-जमिन त्याग्नेहरूले योभन्दा सय गुणा बढी र अजम्मरी जीवनसमेत पाउनेछन्। तर अहिले पहिला हुनेहरूमध्ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”