YouVersion लोगो
खोज आइकन

मत्ती 19:13-30

मत्ती 19:13-30 पवित्र बाइबल (NERV)

त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो” त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो। एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?” येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।” त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, “‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन, आफ्ना आमा-बाबुको आदर गर।’ अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’” त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?” येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।” तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।” जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?” येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।” पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।” येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:13-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेला येशूले आफ्‍ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्‍ना केटा-केटीहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्‍काए। तर येशूले भन्‍नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो।” अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो। एकपल्‍ट एक जना तन्‍नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्‍यू, अजम्‍मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्‍छौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तिमीले अजम्‍मरी जीवन पाउन चाहन्‍छौ भने परमेश्‍वरकै व्यवस्था पालन गर।” तिनले सोधे, “कुन आज्ञाहरू भन्‍नुभएको?” येशूले भन्‍नुभयो, “यिनै त हुन्– मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू। आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना छरछिमेकीलाई पनि आफैंलाई जस्‍तै प्रेम गर्नू।” तन्‍नेरी मानिसले भने, “यी सबै आज्ञाहरू त मैले मान्‍दै आएकै छु। अरू के गर्नुपर्छ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी साँच्‍चै ठीक हुन खोज्‍छौ भने गएर भएभरको सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।” यस्‍तो कुरा सुनेर ती तन्‍नेरी मानिस अँध्‍यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्‍पत्ति थियो। त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न धेरै गाह्रो छ। फेरि म तिमीहरूलाई भन्‍छु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” चेलाहरूले छक्‍क पर्दै भने, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?” येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने कुरा हो, तर परमेश्‍वरबाट भने सबै कुरा हुन सक्‍छ।” त्‍यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र त्‍यस नयाँ राज्‍यमा आफ्‍नो जगमगाउँदो राजसिंहासनमा बस्‍नेछ। त्‍यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्‍ना बाह्रवटा सिंहासनमा बस्‍नेछौ र इस्राएलका बाह्र कुलको न्‍याय गर्नेछौ। मेरो लागि आफ्‍नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्‍गा-जमिन त्‍याग्‍नेहरूले योभन्दा सय गुणा बढी र अजम्‍मरी जीवनसमेत पाउनेछन्। तर अहिले पहिला हुनेहरूमध्‍ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:13-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्‍याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्‍काए। तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।” अनि बालकहरूमाथि हात राख्‍नुभएपछि उहाँ त्‍यहाँबाट जानुभयो। उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?” उहाँले तिनलाई भन्‍नुभयो, “असल के हो त्‍यस विषयमा तिमी मलाई किन सोध्‍दछौ? असल त एउटै मात्र हुनुहुन्‍छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, आज्ञाहरू पालन गर।” तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू। आफ्‍ना आमा-बुबाको आदर गर्नू, र आफ्‍नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।” ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी सिद्ध हुन चाहन्‍छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्नेछौ, अनि आएर मपछि लाग।” जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो। अनि येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गको राज्‍यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ। फेरि म तिमीहरूलाई भन्‍दछु, धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।” यो सुनेर चेलाहरूले अति आश्‍चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्‍छ?” येशूले तिनीहरूमाथि दृष्‍टि लगाई भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ।” तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्‌ हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्‍टिमा जब मानिसको पुत्र आफ्‍नो महिमाको सिंहासनमा बस्‍नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्‍नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्‍साफ गर्नेछौ। हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्‍गाजमिन छोड़ेको छ, त्‍यसले सय गुणा पाउनेछ, र अनन्‍त जीवनको अधिकार पाउनेछ। तर धेरै जो पहिला छन्‌ पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्

मत्ती 19:13-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।” येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो। एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।” त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू, आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’” त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?” येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।” यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो। तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छन्।” पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्‍नेछौ। अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्‍चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ। तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, र जो पछिल्‍ला छन्; ती पहिला हुनेछन्।

शेयर गर्नुहोस्
मत्ती 19 पढ्नुहोस्