YouVersion लोगो
खोज आइकन

लूका 7:11-35

लूका 7:11-35 NCV

त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए। उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो। प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्‍नुभयो, “नरोऊ।” त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्‍क अडिए। अनि उहाँले भन्‍नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!” तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो। तिनीहरू सबै भयभीत भएर परमेश्‍वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्‍वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।” येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो। यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर, तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?” ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ” ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो। त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्‍नालाई बताओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।” यूहन्‍नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई? यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्। तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई। यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि परमेश्‍वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।” (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए। तर फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले परमेश्‍वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिएनन्।) येशूले भन्‍नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्? तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्‍ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’ जब बप्‍तिस्मा दिने यूहन्‍ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’ तर बुद्धि ठिक हो भन्‍ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।”

लूका 7 पढ्नुहोस्