YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 7:11-35

लूकाको सुसमाचार 7:11-35 NERV

अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए। जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए। जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।” येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।” त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो। सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।” उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिँजियो। यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?” त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?” त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्। कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।” जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई? मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्। साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्। उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः ‘सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।’ तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।” जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो। तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे। “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्? यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् ‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं; हामीले दु:खका गीत गायौं तर तिमीहरू रोएनौ।’ बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’ मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, ‘हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।’ तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”