केही दिनपछि येशू नाइन भन्ने सहरमा जानुभयो। उहाँका चेलाहरू र अरू थुप्रै मानिसहरू पनि उहाँको पछि लागे। येशू सहरको ढोकामा आइपुग्नुहुँदा एउटा मुर्दालाई बोकेर मलामीहरू जाँदै थिए। मरेको मानिसचाहिँ एउटी विधवाको एउटै मात्र छोरो थियो। ती विधवासँग मलामी जाने सहरका थुप्रै मानिसहरू पनि थिए। विधवाको दु:ख देख्नुहुँदा प्रभुको हृदय दयाले भरिएर आयो र उहाँले तिनलाई भन्नुभयो, “तिमी नरोऊ!” अनि अगाडि गएर येशूले मुर्दाको खटिया समातेर रोक्नुभयो। मलामीहरू टक्क अडिए। अनि येशूले मुर्दालाई भन्नुभयो, “ए केटा, म तिमीलाई भन्छु, उठ!” त्यति नै खेर मरेको केटो उठेर बस्यो र कुरा गर्न लाग्यो। येशूले त्यो ठिटालाई उसकी आमाकहाँ सुम्पिदिनुभयो। परमेश्वरको यस्तो शक्ति देखेर सबैले छक्क पर्दै उहाँको डर माने अनि परमेश्वरको प्रशंसा गर्दै भने, “एक जना ठूला अगमवक्ता हामीहरूका बीचमा देखा पर्नुभएको छ। परमेश्वर आफ्ना जनहरूलाई बचाउन आउनुभएको हो।” येशूले त्यस केटोलाई बचाउनुभएको खबर यहूदियाभरि र त्यसका वरिपरिका सबै क्षेत्रहरूमा फैलियो। यूहन्नाका चेलाहरूले पनि येशूले गर्नुभएका यी सबै कुरा आफ्ना गुरुलाई सुनाए अनि यूहन्नाले आफ्ना दुई चेलाहरूलाई बोलाएर प्रभु येशूकहाँ यसो भनी सोध्न पठाए, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्तिस्मा दिने यूहन्नाले हामीलाई सोध्न पठाएका हुन्।” त्यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्थ्यो र धेरै अन्धाहरू पनि देख्ने भए। येशूले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्न सक्छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू बिउँतन्छन् र दु:खी-गरीबहरूले परमेश्वरको सुसमाचार सुन्न पाउँदै छन्। मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्य हो!” यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई उनका बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिंदै गरेको निगालोलाई? के राम्रा-राम्रा लुगा लगाएको मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा मोज-मज्जाले बसेका हुन्छन्। साँच्चै भन त, तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनुँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने यूहन्नाकै बारेमा धर्मशास्त्रमा परमेश्वरले यसरी भन्नुभएको छ– हेर, तिमीभन्दा अघि-अघि म मेरो दूतलाई पठाउँदै छु। अनि उनले तिम्रो बाटो तयार पार्नेछन्। “म तिमीहरूलाई भन्छु, स्वास्नी मानिसबाट जन्मिएकाहरूमध्ये यूहन्नाभन्दा ठूलो मानिस कोही छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हो। यूहन्नाको शिक्षा सुनेर मानिसहरूले ‘परमेश्वरको आज्ञा साँच्चै ठीक रहेछ’ भनेर उनले दिने बप्तिस्मा लिए। कर उठाउनेहरू पापी भए पनि तिनीहरूले पनि त्यही आज्ञा मानेर बप्तिस्मा लिए। तर फरिसी र धर्म-गुरुहरूले चाहिँ परमेश्वरको उपायलाई बेकामको ठानेर यूहन्नाबाट बप्तिस्मा लिएनन्। “त्यस्ता मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू कस्ता छन्? तिनीहरू त बजारमा बसेर यसरी कुरा गर्ने बालकहरूजस्ता छन्– हामीले तिमीहरूका लागि बाँसुरी बजाइदिँदा तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा तिमीहरू रोएनौ। अङ्गुरको मद्य नपिउने र उपवास बस्ने यूहन्ना आए। उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। खाने, पिउने म मानव पुत्र आएँ र मलाई चाहिँ तिमीहरूले ‘हेर, त्यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदै छौ। परमेश्वरबाट बुद्धि पाउनेहरूले नै उहाँको बुद्धिलाई ठीक ठहराउँछन्।”
लूका 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:11-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू