YouVersion लोगो
खोज आइकन

लूका 5:1-16

लूका 5:1-16 NCV

एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए। त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।” सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।” जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!” किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए; त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।” यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे। येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो। त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।” तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे। तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।

लूका 5 पढ्नुहोस्