YouVersion लोगो
खोज आइकन

लूका 5:1-16

लूका 5:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मानिसहरू परमेश्‍वरको वचन सुन्‍न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्‍नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्‍ना जालहरू धोइरहेका थिए। ती दुईमध्‍ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्‍यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्‍नुभयो। बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।” तर सिमोनले भने, ‘गुरुज्‍यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्‍नेछु।” अनि जब त्‍यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्‌न लागे। तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्‍म कि डुङ्गाहरू डुब्‍न लागे। तब यो देखेर येशूको पाउमा घोप्‍टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।” यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्‍म माने। त्‍यसै गरी जब्‍दियाका छोराहरू याकूब र यूहन्‍ना पनि छक्‍क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्‍त तिमीले मानिसहरूलाई पक्रनेछौ।” अनि जब तिनीहरूले आफ्‍ना डुङ्गाहरू पाखामा ल्‍याए, तिनीहरूले सबै थोक त्‍यागे, र उहाँको पछि लागे। जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो, तब कुष्‍ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्‍टो परी बिन्‍ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले हात पसारेर “म इच्‍छा गर्दछु, तिमी निको होइजाऊ” भन्‍दै त्‍यसलाई छुनुभयो, र तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हटिहाल्‍यो। उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढ़ाऊ।” तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे। तर येशूचाहिँ निर्जन स्‍थानहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्

लूका 5:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए। त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।” सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।” जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!” किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए; त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।” यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे। येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो। त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।” तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे। तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।

शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्

लूका 5:1-16 पवित्र बाइबल (NERV)

येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो। जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।” शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले। थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।” तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे। जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।” येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो। येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफैं गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।” तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे। येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।

शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्

लूका 5:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक दिन येशू गनेसरेत भन्‍ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्‍वरको शिक्षा सुन्‍न घुइँचो लागेर आए। येशूले तालको किनारमा दुईटा नाउ देख्‍नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए। एउटा नाउचाहिँ सिमोनको थियो। येशूले त्‍यही नाउमा चढेर सिमोनलाई ‘नाउ किनारबाट अलिक पर लैजाऊ’ भन्‍नुभयो र बसेर मानिसहरूलाई शिक्षा दिन लाग्‍नुभयो। शिक्षा दिइसकेपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नाउ गहिरो ठाउँमा लैजाऊ र जाल हान!” यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्‍यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्‍नुभएको हुनाले म जाल हानिदिन्‍छु।” जाल हान्‍दा त यति धेरै माछा परे कि तिनीहरूको जालै फाट्‍न लाग्‍यो अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्‍न लागे। निकाल्‍दा-निकाल्‍दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्‍न लाग्‍यो। यो देखेर सिमोन पत्रुसले येशूको पाउमा परेर भने, “हे प्रभु, म पापी छु, मबाट पर बस्‍नुहोस्!” किनभने यति धेरै माछा परेकोमा सिमोन र तिनका साथीहरू छक्‍क परे र सिमोनसँगै मिलेर काम गर्ने जब्‍दियाका छोराहरू याकूब र यूहन्‍नालाई पनि साह्रै अचम्‍म लागेको थियो। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्‍याउने हुनेछौ।” यो सुनेर तिनीहरूले नाउ किनारामा तानेर ल्‍याए अनि सबै कुरा छोडेर येशूको पछि लागे। एकपल्‍ट येशू कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा कुष्ठरोग लागेको एउटा मानिस थियो। येशूलाई देखेर त्‍यस कुष्‍ठरोगीले उहाँको पाउमा परेर यसरी बिन्‍ती गर्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।” येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” अनि तुरुन्‍तै उसको कुष्ठरोग निको भइहाल्‍यो। तब येशूले उसलाई आज्ञा दिएर भन्‍नुभयो, “हेर, यो कुरा कसैलाई नभन्‍नू! तर पूजाहारीकहाँ गएर आफ्‍नो जाँच गराऊ। मोशाले अह्राएजस्‍तै बलि चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” त्‍यस दिनदेखि येशूको चर्चा झन् फैलिएर गयो अनि धेरैभन्दा धेरै मानिसहरू उहाँको शिक्षा सुन्‍न र निको हुन आउन थाले। तर उहाँचाहिँ सुनसान ठाउँहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।

शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्