YouVersion लोगो
खोज आइकन

लूका 5:1-16

लूका 5:1-16 NNRV

मानिसहरू परमेश्‍वरको वचन सुन्‍न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्‍नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्‍ना जालहरू धोइरहेका थिए। ती दुईमध्‍ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्‍यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्‍नुभयो। बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।” तर सिमोनले भने, ‘गुरुज्‍यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्‍नेछु।” अनि जब त्‍यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्‌न लागे। तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्‍म कि डुङ्गाहरू डुब्‍न लागे। तब यो देखेर येशूको पाउमा घोप्‍टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।” यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्‍म माने। त्‍यसै गरी जब्‍दियाका छोराहरू याकूब र यूहन्‍ना पनि छक्‍क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्‍त तिमीले मानिसहरूलाई पक्रनेछौ।” अनि जब तिनीहरूले आफ्‍ना डुङ्गाहरू पाखामा ल्‍याए, तिनीहरूले सबै थोक त्‍यागे, र उहाँको पछि लागे। जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो, तब कुष्‍ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्‍टो परी बिन्‍ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले हात पसारेर “म इच्‍छा गर्दछु, तिमी निको होइजाऊ” भन्‍दै त्‍यसलाई छुनुभयो, र तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग त्‍यसबाट हटिहाल्‍यो। उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्‍ति भेटी चढ़ाऊ।” तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्‍न र आफ्‍ना-आफ्‍ना रोगहरूबाट निको हुन जम्‍मा हुन्‍थे। तर येशूचाहिँ निर्जन स्‍थानहरूमा गएर प्रार्थना गर्नुहुन्‍थ्‍यो।