YouVersion लोगो
खोज आइकन

लूका 4:33-44

लूका 4:33-44 NCV

सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो, “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” येशूले भूतआत्मालाई हकारेर भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्‍यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो। सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!” उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो। त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्‍न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। तर उहाँले भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।” अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।

लूका 4 पढ्नुहोस्