तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। भीड यो दृश्य हेर्दै त्यहाँ उभियो र शासकहरूले त उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने, आफैलाई बचाओस्।” सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा।” उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई पनि बचाऊ!” तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्वरको डर मान्दैनस्? हामीले ता न्यायोचित रूपले दण्ड पाइरहेका छौं, किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौं, तर यी मानिसले ता कुनै अनुचित काम गरेका छैनन्।” त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
लूका 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 23:33-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू