YouVersion लोगो
खोज आइकन

लूका 23:33-43

लूका 23:33-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।” अनि तिनीहरूले उहाँको वस्‍त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्‍वरका ख्रीष्‍ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्‌।” सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्‍ला गरे, “तँ यहूदीहरूका राजा होस्‌ भने आफूलाई बचा।” “यो यहूदीहरूको राजा हो” भन्‍ने दोष-पत्र पनि उहाँको मास्‍तिर थियो। क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌? हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।” तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ।”

शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्

लूका 23:33-43 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। भीड यो दृश्य हेर्दै त्यहाँ उभियो र शासकहरूले त उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्‍वरको ख्रीष्‍ट, चुनिएको जन हो भने, आफैलाई बचाओस्।” सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा।” उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई पनि बचाऊ!” तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्? हामीले ता न्यायोचित रूपले दण्ड पाइरहेका छौं, किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौं, तर यी मानिसले ता कुनै अनुचित काम गरेका छैनन्।” त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”

शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्

लूका 23:33-43 पवित्र बाइबल (NERV)

येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे। येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?” सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।” एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।” तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।” तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”

शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्

लूका 23:33-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए। त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्‍वरले छानेको मुक्ति दिने राजा ख्रीष्‍ट नै हो भने आफैंलाई पनि बचाओस्।” सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्‍ला गर्दै भने, “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्‍ड्याइएको थियो। येशूसँगै झुण्‍ड्याइएका दुई अपराधीहरूमध्‍ये एउटाले येशूलाई खिसी गर्दै भन्‍यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्‍ट होइनस्? त्‍यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!” तर अर्को अपराधीले त्‍यसलाई हप्‍काउँदै भन्‍यो, “तिमीलाई परमेश्‍वरको डर लाग्‍दैन? तिमीले पनि त उहाँकै जस्‍तो दण्‍ड भोगिरहेका छौ। हामीले त नराम्रो काम गरेकोले उचित दण्‍ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।” त्‍यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्‍झिनुहोस्!” येशूले उनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍छु, आज नै तिमी मसँग स्‍वर्गमा हुनेछौ।”

शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्

लूका 23:33-43

लूका 23:33-43 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्