त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो। येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।” तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’ तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।” तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे। जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।” त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
लूका 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:7-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू