YouVersion लोगो
खोज आइकन

लूका 22:7-19

लूका 22:7-19 NNRV

अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्‍तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्‍यो। उहाँले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्‍ति निस्‍तार-चाड़को भोज तयार गर।” तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। त्‍यो जुन घरमा पस्‍छ त्‍यहाँसम्‍म त्‍यसको पछि लाग, र तिमीहरूले त्‍यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्‍नुहुन्‍छ, मैले आफ्‍ना चेलाहरूसँग निस्‍तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तयार गर।” तिनीहरू गए, र उहाँले भन्‍नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को तयारी गरे। अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।” तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।” अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”