त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, के खाऔंला भनी आफ्नो जीवनको निम्ति, र के पहिरौंला भनी आफ्नो शरीरको निम्ति चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हुन्छ। कागहरूलाई विचार गर: तिनीहरूले न ता छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूका न ता भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू ता चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने, अन्य कुराहरूको निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? “लिली फूल कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जत्ति पनि सिँगारिएका थिएनन्। यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, हे अल्पविश्वासीहरूहो, उहाँले तिमीहरूलाई झन् कति बढी आभूषित गर्नुहोला! अनि के खाऔंला अथवा के पिऔंला भनी त्यसैको खोजीमा मन नलगाओ, त्यस बारेमा चिन्ता नगर। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, अनि यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्नो निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धन तयार पार, जहाँ चोर आउँदैन र कीराले पनि नाश गर्दैन। किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ। “सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।”
लूका 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:22-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू