YouVersion लोगो
खोज आइकन

लूका 12:22-40

लूका 12:22-40 NNRV

उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ। किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ! तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ? यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ? “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ। के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ। तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन। किनकि जहाँ तिम्रो धन छ, त्‍यहीँ तिम्रो मन पनि हुनेछ। “तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌। ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌। यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌। तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”