YouVersion लोगो
खोज आइकन

लूका 12:22-40

लूका 12:22-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ। किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ! तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ? यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ? “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ। के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ। तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन। किनकि जहाँ तिम्रो धन छ, त्‍यहीँ तिम्रो मन पनि हुनेछ। “तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌। ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌। यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌। तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:22-40 नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, के खाऔंला भनी आफ्नो जीवनको निम्ति, र के पहिरौंला भनी आफ्नो शरीरको निम्ति चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हुन्छ। कागहरूलाई विचार गर: तिनीहरूले न ता छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूका न ता भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू ता चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने, अन्य कुराहरूको निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? “लिली फूल कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जत्ति पनि सिँगारिएका थिएनन्। यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्छ भने, हे अल्पविश्‍वासीहरूहो, उहाँले तिमीहरूलाई झन् कति बढी आभूषित गर्नुहोला! अनि के खाऔंला अथवा के पिऔंला भनी त्यसैको खोजीमा मन नलगाओ, त्यस बारेमा चिन्ता नगर। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, अनि यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्नो निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धन तयार पार, जहाँ चोर आउँदैन र कीराले पनि नाश गर्दैन। किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ। “सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्‍ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:22-40 पवित्र बाइबल (NERV)

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ? “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ। “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ। “तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्। त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ। धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ। तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्। “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:22-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तिनीहरूका भण्‍डार, भकारी पनि हुँदैन, तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्‍छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्‍यवान् छौ। तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु थोरै समय बढाउन सक्‍छौ र? यति सानो काम पनि गर्न सक्‍दैनौ भने त अरू कुराको चिन्‍ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजासित त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्‍तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्‍वरले यसरी सिँगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै तिमीहरूको विश्‍वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्‍नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो राज्‍य दिन खुसी हुनुभएको छ। तिमीहरूले आफ्‍नो सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्‍नो लागि सधैँ रहने भण्‍डार बनाओ र कहिल्‍यै नसकिने धन स्‍वर्गमा जम्‍मा गर। त्‍यहाँ त चोर पनि लाग्‍दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ।” त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख। तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्‍ता होओ। मालिक आएर ढोका ढकढक्‍याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्‍छन्। मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्‍याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, त्‍यस मालिकले पाहुनालाई जस्‍तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्। तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्‍ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्‍याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्। “तर यो सम्‍झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्‍नै दिने थिएनन्। त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्