त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तिनीहरूका भण्डार, भकारी पनि हुँदैन, तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्यवान् छौ। तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु थोरै समय बढाउन सक्छौ र? यति सानो काम पनि गर्न सक्दैनौ भने त अरू कुराको चिन्ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्। तर म तिमीहरूलाई भन्छु, सोलोमन राजासित त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्वरले यसरी सिँगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै तिमीहरूको विश्वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्ता नगर। परमेश्वरलाई नचिन्नेहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर परमेश्वर पितालाई थाहा छ। पहिले परमेश्वरको राज्यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य दिन खुसी हुनुभएको छ। तिमीहरूले आफ्नो सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्नो लागि सधैँ रहने भण्डार बनाओ र कहिल्यै नसकिने धन स्वर्गमा जम्मा गर। त्यहाँ त चोर पनि लाग्दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।” त्यसपछि येशूले भन्नुभयो, “आफ्नो कम्मर कसेर तयार भई बस र बत्तीहरू बालिराख। तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्ता होओ। मालिक आएर ढोका ढकढक्याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्छन्। मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्चै म तिमीहरूलाई भन्छु, त्यस मालिकले पाहुनालाई जस्तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्। तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्। “तर यो सम्झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्नै दिने थिएनन्। त्यस्तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”
लूका 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:22-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू