यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो। अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन। तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
“मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन। वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ। मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।
“जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर; किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।”
भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”
येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?” त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’
“त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’
“तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’
“आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
“लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
“ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।