YouVersion लोगो
खोज आइकन

लेवी 23:1-14

लेवी 23:1-14 NCV

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू। “ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामदिन, पवित्र दिन हो। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो याहवेहका निम्ति शब्बाथ हो।’ “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू: याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ। त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू। सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिन लागेको देशमा प्रवेश गर्छौ र त्यहाँ बाली कटनी गर्छौ; तब तिमीहरूले कटनी गरेका पहिलो अन्‍नको एक बिटा पुजारीकहाँ ल्याउनू। उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्। तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू। त्यससित एपाको दशौँ भागको दुई भाग मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्‍ना हुने गरी र एक हिन दाखमद्य अर्घबलिस्वरूप चढाउनू। यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।

लेवी 23 पढ्नुहोस्