YouVersion लोगो
खोज आइकन

लेवीहरू 23:1-14

लेवीहरू 23:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। “‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्‍यो परमप्रभुको शबाथ हो। “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात्‌ पवित्र सभाहरू यी नै हुन्‌: पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्‍तार सुरु हुन्‍छ। त्‍यसै महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको निम्‍ति अखमिरी रोटीको चाड़ सुरु हुन्‍छ। सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्‍यहाँको बाली काटौला, तब तिमीहरूले आफ्‍नो बालीको पहिलो उब्‍जनीको एक बिटा पूजाहारीकहाँ ल्‍याउनू। त्‍यो ग्रहण हुनलाई तिनले त्‍यो बिटा परमप्रभुको सामुन्‍ने डोलाऊन्‌। शबाथको भोलिपल्‍ट पूजाहारीले त्‍यो डोलाऊन्‌। त्‍यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्‍ति होमबलिको लागि एउटा एक वर्षे निष्‍खोट थुमा तिमीहरूले चढ़ाउनू। त्‍यससँगको अन्‍नबलिचाहिँ परमप्रभुको निम्‍ति एक मीठो बास्‍ना, आगोद्वारा चढ़ाइने बलि स्‍वरूप तेलमा मुछेको एक पाथी मसिनो पीठो होस्‌। अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस्‌। तिमीहरू यो बलि आफ्‍ना परमेश्‍वरको निम्‍ति जुन दिनसम्‍म ल्‍याउँदैनौ त्‍यस दिनसम्‍म रोटी, भुटेको अन्‍न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू। “ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामदिन, पवित्र दिन हो। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो याहवेहका निम्ति शब्बाथ हो।’ “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू: याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ। त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू। सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिन लागेको देशमा प्रवेश गर्छौ र त्यहाँ बाली कटनी गर्छौ; तब तिमीहरूले कटनी गरेका पहिलो अन्‍नको एक बिटा पुजारीकहाँ ल्याउनू। उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्। तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू। त्यससित एपाको दशौँ भागको दुई भाग मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्‍ना हुने गरी र एक हिन दाखमद्य अर्घबलिस्वरूप चढाउनू। यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:1-14 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्। “छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम दिन मान्नु। “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ। परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ। “त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ। यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ। सात दिनसम्म तिमीले परमप्रभुलाई आगोद्वारा बलि चढाउन बलिहरू ल्याउनु पर्छ। तब सातौं दिनमा फेरि अर्को विशेष सभा हुन्छ अनि त्यस दिन तिमीले कुनै काम गर्ने छैनौ।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू। पूजाहारीले बिटालाई परमप्रभु अधि डोलाओस् यसकारण तिमीहरूलाई स्वीकार गर्नेछ उसले त्यो विश्राम भोलि पल्ट गर्नेछ। “जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक बर्षे निष्खोट थुमा ल्याउन्। अंडीरको तेलमा मिसाएको सोलह बटुको मसिनो पीठोको अन्नबलि पनि चढाउनुपर्छ। तिमीहरूले पनि चढाउनु पर्छ र तिमीहरूले एक लीटर मद्य चढाएको बलिको बास्नाले परमप्रभुलाई आनन्दित पार्नेछ। तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशालाई धार्मिक चाडहरूको निम्‍ति यी नियमहरू दिनुभयो। ती चाडमा इस्राएलका मानिसहरू एक ठाउँमा परमेश्‍वरको आराधना गर्नलाई भेला हुनुपर्थ्‍यो। आफ्‍नो काम गर्नलाई तिमीहरूले ६ दिन पाउँदछौ तर याद राख कि सातौँ दिन शबाथ दिन, बिश्रामको लागि हो। त्‍यो दिन तिमीहरूले काम नगर्नू तर आराधना गर्नलाई एकसाथ भेला हुनू। तिमीहरू जहीँ बसे तापनि पवित्र विश्राम दिन परमप्रभुको हो। यी चाडहरू मान्‍नलाई तोकिएको समयमा घोषणा गर। परमप्रभुको आदर गर्नलाई मानिने निस्‍तार-चाड पहिलो महिनाको चौधौँ दिनमा घाम डुब्‍दा सुरु हुन्‍छ। पन्‍ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्‍छ र सात दिनसम्‍म तिमीहरूले खमिर हालेको रोटी नखानू। पहिलो दिन तिमीहरू पवित्र सभामा भेला हुनू र आफ्‍ना दिन-दिनको काम नगर्नू। सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू। सातौँ दिन तिमीहरू फेरि आराधना गर्नलाई भेला हुनू, त्‍यो दिन आफ्‍ना दिन-दिनको काम नगर्नू। जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुभएको देशमा आइपुग्‍छौ र त्‍यहाँ अन्‍न बटुल्‍ने काम गर्छौ, पहिलो बिटा पूजाहारीकहाँ लैजानू। त्‍यो विशेष भेटीको रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ, तिमीहरू ग्रहण गरिनेछौ। त्‍यो भेटी पूजाहारीले पवित्र विश्राम दिनको भोलिपल्‍ट चढाओस्। जुन दिन तिमीहरू अन्‍नबलि चढाउँछौ, त्‍यही दिन एउटा एक वर्ष पुगेको निष्‍खोट थुमा पनि होमबलि चढाउनू। त्‍योसित जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो पनि अन्‍नबलिको रूपमा चढाउनू। यो भेटीको सुबास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। त्‍योसित एक लिटर दाखमद्य पनि तिमीहरूले भेटी चढाउनू। यो भेटी परमेश्‍वरलाई नचढाएसम्‍म तिमीहरूले नयाँ अन्‍न काँचो वा पोलेर वा रोटी बनाएर पनि नखानू। आउँदा दिन सदासर्वदा यो नियम तिम्रा सन्‍तानले मान्‍नुपर्नेछ।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्