YouVersion लोगो
खोज आइकन

लेवी 23:1-14

लेवी 23:1-14 सरल नेपाली

परमप्रभुले मोशालाई धार्मिक चाडहरूको निम्‍ति यी नियमहरू दिनुभयो। ती चाडमा इस्राएलका मानिसहरू एक ठाउँमा परमेश्‍वरको आराधना गर्नलाई भेला हुनुपर्थ्‍यो। आफ्‍नो काम गर्नलाई तिमीहरूले ६ दिन पाउँदछौ तर याद राख कि सातौँ दिन शबाथ दिन, बिश्रामको लागि हो। त्‍यो दिन तिमीहरूले काम नगर्नू तर आराधना गर्नलाई एकसाथ भेला हुनू। तिमीहरू जहीँ बसे तापनि पवित्र विश्राम दिन परमप्रभुको हो। यी चाडहरू मान्‍नलाई तोकिएको समयमा घोषणा गर। परमप्रभुको आदर गर्नलाई मानिने निस्‍तार-चाड पहिलो महिनाको चौधौँ दिनमा घाम डुब्‍दा सुरु हुन्‍छ। पन्‍ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्‍छ र सात दिनसम्‍म तिमीहरूले खमिर हालेको रोटी नखानू। पहिलो दिन तिमीहरू पवित्र सभामा भेला हुनू र आफ्‍ना दिन-दिनको काम नगर्नू। सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू। सातौँ दिन तिमीहरू फेरि आराधना गर्नलाई भेला हुनू, त्‍यो दिन आफ्‍ना दिन-दिनको काम नगर्नू। जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुभएको देशमा आइपुग्‍छौ र त्‍यहाँ अन्‍न बटुल्‍ने काम गर्छौ, पहिलो बिटा पूजाहारीकहाँ लैजानू। त्‍यो विशेष भेटीको रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ, तिमीहरू ग्रहण गरिनेछौ। त्‍यो भेटी पूजाहारीले पवित्र विश्राम दिनको भोलिपल्‍ट चढाओस्। जुन दिन तिमीहरू अन्‍नबलि चढाउँछौ, त्‍यही दिन एउटा एक वर्ष पुगेको निष्‍खोट थुमा पनि होमबलि चढाउनू। त्‍योसित जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो पनि अन्‍नबलिको रूपमा चढाउनू। यो भेटीको सुबास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। त्‍योसित एक लिटर दाखमद्य पनि तिमीहरूले भेटी चढाउनू। यो भेटी परमेश्‍वरलाई नचढाएसम्‍म तिमीहरूले नयाँ अन्‍न काँचो वा पोलेर वा रोटी बनाएर पनि नखानू। आउँदा दिन सदासर्वदा यो नियम तिम्रा सन्‍तानले मान्‍नुपर्नेछ।

लेवी 23 पढ्नुहोस्