YouVersion लोगो
खोज आइकन

लेवी 19:1-18

लेवी 19:1-18 NCV

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु। “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्। त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्। यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन। त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्। “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू। तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू। “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ। “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू। “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ। “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू। “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ। “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्। “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।

लेवी 19 पढ्नुहोस्