YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 19:1-18

लेवीहरूको पुस्तक 19:1-18 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु। “तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। “मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्। तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ। तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन। यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ। “जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप। जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ। “तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक। “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ। “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब भनि दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ। मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ। “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ। मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।