परमप्रभुले मोशाद्वारा इस्राएली जन-समूहलाई भन्नुभयो, “पवित्र होओ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु। तिमीहरू हरेकले मैले आज्ञा गरेअनुसार आफ्ना आमा-बुबाको आदर गर्नुपर्छ र पवित्र विश्राम दिन मान्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “मलाई छोडेर मूर्तिपूजा नगर, धातुका मूर्तिहरू बनाएर तिनलाई नपूज। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “तिमीहरू जब मेलबलिको निम्ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्वीकार गर्नेछु। पशु मारिएकै दिन वा त्यसको भोलिपल्ट त्यसको मासु खाइसक्नुपर्छ। तेस्रो दिनसम्म उब्रेको मासु जलाइनुपर्छ किनभने त्यो विधिअनुसार अशुद्ध छ र कसैले त्यो खायो भने म त्यो बलि ग्रहण गर्नेछैनँ। त्यस्तो मासु खाने मानिस मेरो जन ठानिनेछैन किनभने त्यसले मलाई अर्पण गरिएको वस्तुलाई एउटा मामुली थोक मात्र ठान्ने दोष गरेको हुन्छ। “जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्दछौ, खेतको किनाराका बाली नकाट्नू र छाडिएका अन्नका बाली काट्नलाई फर्की नजानू। टिप्दा छाडिएका वा भूइँमा झरेको अङ्गुर टिप्न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू। मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “कसैबाट फाइदा नउठाउनू वा कसैलाई नलुट्नू। कुनै ज्यामीको ज्याला एकै रात पनि नरोक्नू। बहिरालाई गाली नगर्नू वा अन्धाको अघि कुनै ठोकर लाग्ने कुरा नराखिदिनू। मेरो डर राख; म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “मुद्दामा निर्णय दिँदा तिमीहरू इमानदार र न्यायी हुनू। गरीबतर्फ पनि नलाग्नू, धनीको डर पनि नमान्नू। कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्छ भने तिमी बोल। म परमप्रभु हुँ। “कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्ने कुरा छिनोफानो गरिहाल र त्यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ। कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
लेवी 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 19:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू