मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्, मेरो प्राण मभित्र व्याकुल छ; मेरो हृदय छिया-छिया भएको छ; किनकि मेरा मानिसहरू नष्ट भएका छन्; अनि बालबालिकाहरू र दुधे बच्चाहरू सहरका गल्लीहरूमा बेहोश भएका छन्। जब तिनीहरू गल्लीहरूमा घाइते ढलेझैँ ढल्छन्, जब तिनीहरूको प्राण आफ्ना आमाका काखमा शिथिल हुन्छन्, तब आफ्ना आमाहरूलाई यसो भन्छन्, “खोइ, भोजन र दाखमद्य कहाँ छन्?” हे यरूशलेमकी छोरी, तँलाई म के भनूँ? म तँलाई केसँग तुलना गरूँ? हे सियोनकी कुमारी छोरी, म तँलाई केसँग तुलना गरूँ? ताकि म तँलाई सान्त्वना दिन सकूँ? तेरो विनाशको चोट सागरझैँ गहिरो छ। तँलाई कसले निको पार्न सक्ला? तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू झूटा र व्यर्थका थिए; तँलाई कैदमा जानबाट जोगाउनलाई तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्। बरु तिनीहरूले तेरा लागि झूटो र भ्रामक ईश्वरवाणी गरे। तेरो बाटो छेउभएर जाने मानिसहरू सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्; यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै टाउको हल्लाउँछन्: “के यो त्यही सहर हो, जसलाई अति सुन्दर र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?” तेरा सबै शत्रुहरू आफ्ना मुख खोलेर तेरो विरुद्धमा बोल्छन्; तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ। हामीले प्रतीक्षा गरेको दिन यही हो; हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।” याहवेहले जे योजना गर्नुभएको थियो; उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ, जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो। उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ; उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ, र उहाँले तेरा शत्रुहरूका सिङ उच्च पारिदिनुभएको छ। मानिसका हृदयले प्रभुलाई चर्को सोरले पुकार्दछन्। हे सियोनकी छोरीको पर्खाल, तेरो आँसु नदीझैँ दिनरात बगोस्; तैँले आफूलाई अलिकति पनि विश्राम नदे! अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे। जब रातको पहिलो पहर सुरु हुन्छ, तब रातभरि उठेर करा; तेरो हृदय पानीझैँ प्रभुको उपस्थितिमा पोख्। तेरा बालबालिकाको जीवनको निम्ति आफ्ना हातहरू उहाँतिर उठा, ती बालकहरू, जो हरेक गल्लीका मोडमा भोकले मूर्च्छा परेका छन्।
विलाप 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: विलाप 2:11-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू