YouVersion लोगो
खोज आइकन

यहोशू 21:20-45

यहोशू 21:20-45 NCV

बाँकी रहेका लेवीहरूका कहाती वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइएको थियो: एफ्राइमको पहाडी मुलुकमा तिनीहरूलाई यी सहरहरू दिइएको थियो: शेकेम (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), गेजेर, किब्सैम र बेथ-होरोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो। दानको कुलबाट पनि तिनीहरूले यी सहरहरू पाए: एल्तके, गिब्बतोन, अय्यालोन र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू पाए। मनश्शेको आधा कुलबाट तिनीहरूले यी सहरहरू पाए: तानाक र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसँगै दुई वटा सहरहरू पाए। यी सबै दश सहरहरू र तिनीहरूका खर्कहरू कहाती वंशका बाँकी रहेकाहरूलाई दिइएको थियो। लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो। इस्साखारको कुलबाट: किश्योन, दाबरत, यर्मूत र एन-गन्‍नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो। आशेरको कुलबाट: मिशाल, अब्दोन, हेल्कत र रहोब, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए। नप्‍तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए। गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए। मरारी वंशकाहरू, जो लेवीहरूका बाँकी रहेकाहरू थिए। तिनीहरूलाई यी सहरहरू दिइएको थियो: जबूलूनको कुलबाट: योक्नाम, कर्तह, दिम्ना र नहलल, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए; रूबेनको कुलबाट: बेसेर, यहसा, कदेमोत र मेपात, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए। गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम, हेश्बोन र याजेर, तिनीहरूका खर्कहरूसमेत जम्मा चार वटा सहरहरू थिए। लेवीहरूका बाँकी रहेका सबै मरारी वंशलाई दिइएका सहरहरू जम्मा बाह्र वटा थिए। इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए। यी सहरहरूका चारैतिर खर्कहरू थिए; प्रत्येक सहरहरूमा यस्तै थियो। यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे। याहवेहले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएझैँ, उहाँले तिनीहरूलाई चारैतिरबाट शान्ति दिनुभयो। तिनीहरूका कुनै पनि शत्रु तिनीहरूको विरुद्धमा खडा रहन सकेनन्। याहवेहले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।

यहोशू 21 पढ्नुहोस्