YouVersion लोगो
खोज आइकन

यहोशू 21:20-45

यहोशू 21:20-45 सरल नेपाली

अरू कहात-वंशी लेवी परिवारहरूले एफ्राइमका इलाकाबाट केही सहरहरू पाए। तिनीहरूलाई चार सहर दिइयो, एफ्राइमका पहाडी देशमा शकेम (एउटा ज्‍यानमाराको शरणस्‍थल) र त्‍यसका चरनहरू, गेजेर, किब्‍सैम र बेथ-होरोन र तिनमा भएका चरनहरू। दान कुलका इलाकाबाट तिनीहरूले चार सहरहरू, एल्‍तके, गिब्‍बतोन, अय्‍यालोन र गात-रिम्‍मोन तिनका चरनहरूसहित पाए। पश्‍चिमी मनश्‍शे कुलका इलाकाबाट दुई सहरहरू तानाक र गात-रिम्‍मोन चरनहरूसहित तिनीहरूलाई दिइयो। कहातका वंशका यी परिवारहरूले जम्‍मा दश सहरहरू तिनका चरनहरूसहित पाए। गेर्शोनका वंशका लेवीहरूको अर्को दलले पूर्वी मनश्‍शे कुलका इलाकाबाट दुई सहरहरू बाशानका गोलान (एउटा शरणस्‍थल) र बे-एश्‍तरा तिनीहरूका चरनहरूसहित पाए। इस्‍साखारका इलाकाबाट तिनीहरूले चार सहरहरू किश्‍योन, दाबरत, यर्मूत र एन-गन्‍नीम तिनीहरूका चरनहरूसहित पाए। आशेरका इलाकाबाट तिनीहरूले चार सहरहरू मिशाल, अब्‍दोन, हेल्‍कत र रहोब तिनीहरूका चरनहरूसहित पाए। नप्‍तालीका इलाकाबाट तीन सहरहरू गालीलमा केदेश (एउटा शरणस्‍थल) त्‍यसका चरनहरूसहित हम्‍मोत-डोर र कर्तान तिनका चरनहरूसहित तिनीहरूले पाए। गेर्शोन वंशका भिन्‍न-भिन्‍न परिवारहरूले जम्‍मा तेह्र सहरहरू तिनीहरूका चरनहरूसहित पाए। बाँकी लेवीहरूले, जो मरारी वंशका थिए, जबूलूनका इलाकाबाट चार सहरहरू योक्‍नाम, कर्तह, दिम्‍ना र नहलल चरनहरूसहित पाए। रूबेनका इलाकाबाट तिनीहरूले चार सहरहरू बेसेर, यहसा, कदेमोत र मेपात चरनहरूसहित पाए। गाद कुलबाट तिनीहरूले चार सहरहरू गिलादका रामोत (शरणस्‍थलमध्‍ये एउटा) त्‍यसका चरनहरूसहित र महनोम, हेश्‍बोन र याजेर चरनहरूसहित पाए। यसरी मरारीका वंशले जम्‍मा बाह्र सहरहरू पाए। इस्राएलका मानिसहरूका अधिकारमा परेका देशबाट जम्‍मा अठ्चालीस सहरहरू तिनका चरनहरू सहित लेवीहरूले पाए। यसरी परमप्रभुले इस्राएललाई उहाँले तिनका पुर्खाहरूलाई दिन्‍छु भनी गम्‍भीर प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो। त्‍यो अधीनमा लिएपछि तिनीहरू त्‍यहाँ बसोबास गर्न थाले। परमप्रभुले सारा देशभरि तिनीहरूलाई शान्‍ति दिनुभयो। उहाँले तिनका पुर्खाहरूसित त्‍यस्‍तै प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरूको एउटै शत्रु पनि तिनको अघि खडा हुन सकेन किनभने परमप्रभुले इस्राएलीहरूलाई तिनका सबै शत्रुहरूमाथि विजय दिनुभयो। इस्राएलका मानिसहरूसित गर्नुभएको प्रत्‍येक प्रतिज्ञा परमप्रभुले पूरा गर्नुभयो।

यहोशू 21 पढ्नुहोस्