इयोब 30
30
1“तर अहिले त मभन्दा साना उमेरकाहरूले
मेरो हाँसो उडाउँछन्,
जसका बुबाहरूलाई मेरो भेडाहरूको गोठालो
कुकुरहरूको दर्जामा राख्न पनि अयोग्य ठान्थेँ।
2तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले,
मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?
3अभाव र भोकले दुब्लाएर,
तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे,
र उजाड ठाउँतिर डुलिहिँड्थे।
4तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे,
र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।
5तिनीहरू मानव समाजबाट धपाइएका थिए,
तिनीहरूलाई चोरहरूलाई जस्तै लखेटिन्थ्यो।
6तिनीहरूलाई सुक्खा खोलाका बगरहरूमा,
चट्टान र जमिनका दुलोहरूमा बस्न बाध्य गराइन्थ्यो।
7तिनीहरू झाडीहरूमा कराई हिँड्थे
र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।
8तिनीहरू मूर्ख र नामथर विहीन सन्तानहरू थिए;
तिनीहरूलाई देशबाट निकालिएको थियो।
9“तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्ला गर्छन्;
म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।
10तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्;
तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।
11अहिले परमेश्वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ;
तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।
12मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ;
तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्,
तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।
13तिनीहरूले मेरो बाटो भत्काउँछन्;
तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर
मलाई नाश गर्न सफल हुन्छन्।
14तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्;
तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।
15मलाई त्रासले छाएको छ;
मेरो प्रतिष्ठा बतासले उडाएजस्तै भएको छ,
मेरो सुरक्षा बादलजस्तै हराएको छ।
16“र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ;
कष्टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।
17रातले मेरा हड्डीहरूलाई छेड्छ;
मलाई पिरोल्ने पीडा कहिल्यै थामिँदैन।
18परमेश्वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ#30:18 मूल भाषामा छाला हुनुभएको छ;
उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।
19उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ,
अनि म धुलो र खरानीजस्तै भएको छु।
20“हे परमेश्वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न;
म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्न।
21तपाईं मसँग निर्दयी हुनुभएको छ;
आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।
22तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ;
तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।
23म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्यानुहुन्छ,
त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।
24“पीडित मानिसले आफ्नो कष्टमा सहायताको निम्ति बिन्ती गर्दा
निश्चय नै त्यसमाथि कसैले हात उठाउँदैन।
25के म सङ्कष्टमा परेकाहरूका निम्ति रोएको थिइनँ र?
के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?
26तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्टता नै आइलाग्यो;
मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
27मभित्रको उथलपुथल कहिल्यै थामिँदैन;
कष्टका दिनहरूले मेरो सामना गर्छन्।
28म कालो भएको छु, तर घामले होइन;
म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।
29म त स्यालहरूको भाइ,
उल्लुहरूको साथी भएको छु।
30मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ;
मेरो शरीर ज्वरोले जलेको छ।
31मेरो वीणा शोकमा परिणत भएको छ,
र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।
अहिले सेलेक्ट गरिएको:
इयोब 30: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.