YouVersion लोगो
खोज आइकन

इयोब 31

31
1“मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी
मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।
2किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग,
र उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो?
3के दुष्‍ट मानिसहरूका निम्ति विनाश,
र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र?
4के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न?
र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र?
5“यदि म झूटो मार्गमा हिँडेको छु भने
अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,
6परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्,
अनि उहाँले म निर्दोष छु भनी जानून्।
7यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने,
यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने,
अथवा मेरा हातहरू अशुद्ध पारेको भए,
8तब मैले छरेका अन्‍नहरू कसैले खाओस्,
र मेरा बालीहरू उखालिओस्।
9“यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए,
अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए,
10मेरी पत्नीले अर्का मानिसको जाँतो पिँध्न परोस्,
र परपुरुषहरू ऊसँग सुतून्;
11किनकि त्यो घोर कुकर्म हो;
र न्याय गरिनुपर्ने पाप हो।
12किनकि यो त जलेर भस्म#31:12 अथवा मृत्युमा पुर्‍याउने पाप हो। पार्ने आगो हो;
यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ।
13“मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा,
चाहे स्त्री होस् वा पुरुष,
यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए,
14परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ?
उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ?
15के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र?
के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?
16“यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए,
अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,
17यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए,
यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—
18तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ,
र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ—
19यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा,
अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,
20अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा
तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,
21यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर,
मैले अनाथहरूका विरुद्ध हात उठाएको भए,
22त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्,
त्यो जोर्नीबाट चुँडिओस्।
23किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ,
र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ।
24“यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने
अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’
25यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा,
मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने
26यदि मैले सूर्यको प्रतापलाई
अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए,
27जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए,
र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए,
28त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए;
किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ।
29“यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए,
अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—
30मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर
आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ—
31यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए,
“इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?”
32तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो;
किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो,
33मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर
मेरो पाप ढाकेको छु?
34म भीडसँग धेरै डराएर,
आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी,
म चुपचाप घरमै लुकेर बसेको छु र?
35(“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त!
अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्;
मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।
36निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ,
म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ।
37म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ;
म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।)
38“यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो,
र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,
39यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने
अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने
40त्यसो भए गहुँको सट्टामा काँडैकाँडा,
र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।”
यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए।

अहिले सेलेक्ट गरिएको:

इयोब 31: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्