इयोब 1
1
परिचय
1ऊज देशमा एक जना मानिस थिए, जसको नाम इयोब थियो। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्वरको डर मान्थे र दुष्टताबाट टाढै बस्थे। 2तिनका सात छोरा र तीन छोरी थिए। 3तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।
4तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे। 5जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।
6एक दिन परमेश्वरका दूतहरूले#1:6 मूल भाषामा परमेश्वरका पुत्रहरू आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान#1:6 मूल भाषामा विरोधी पनि तिनीहरूसँगसँगै आयो। 7याहवेहले शैतानलाई भन्नुभयो, “तँ कहाँबाट आइस्?”
शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
8तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्वरको डर मान्ने र दुष्टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”
9शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्वरको डर राखेको हो र? 10के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्। 11तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
12याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ, औँलाले समेत छुन पाउँदैनस्।”
तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।
13एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब 14एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए, 15तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
16त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्यो, र म मात्र उम्केँ, तब तपाईंलाई यो खबर बताउन आएको हुँ!”
17त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
18त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए; 19तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!”
20तब, इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, 21अनि तिनले भने:
“म मेरी आमाको गर्भबाट नाङ्गै आएँ,
र नाङ्गै फर्केर जानेछु।
याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो;
याहवेहको नामको प्रशंसा होस्।”
22यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्वरलाई गलत कार्यको दोष नै लगाए।
अहिले सेलेक्ट गरिएको:
इयोब 1: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.