इयोब 2
2
1फेरि अर्को दिन स्वर्गदूतहरूले#2:1 मूल भाषामा परमेश्वरका पुत्रहरू आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो। 2याहवेहले शैतानलाई भन्नुभयो, “तँ कहाँबाट आएको होस्?”
शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”
3तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्वरको डर मान्ने र दुष्टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।”
4अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ। 5तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
6याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”
7तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्यो। 8त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।
9यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्ठामा अडिरहनुहुन्छ? बरु परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्!”
10तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै#2:10 मूल भाषामा परमेश्वरमा भरोसा नगर्ने स्त्री कुरा गरिरहेकी छौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?”
यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।
11जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के। 12जब तिनीहरूले इयोबलाई टाढैबाट देखे, तिनीहरूले तिनलाई चिन्नै सकेनन्; तब तिनीहरू चर्को सोरमा रुन थाले, र आ-आफ्ना लबेदा च्याते, र तिनीहरूले आफ्नो शिरमाथि खरानीको धुलो छर्के। 13तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे।
अहिले सेलेक्ट गरिएको:
इयोब 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.