YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7:14-24

यूहन्‍ना 7:14-24 NCV

अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?” येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन। के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?” भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्‍क पर्दछौ। तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथमा बालकको खतना गर्दछौ। अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ? केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”

यूहन्‍ना 7 पढ्नुहोस्