यूहन्ना 7:14-24
यूहन्ना 7:14-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चाड़को बीचमा येशू मन्दिरभित्र पस्नुभयो, र शिक्षा दिनुभयो। यहूदीहरूले अचम्म मान्दै यसो भने, “कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?” तब येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो। यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्वरतर्फबाट हो, कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। जसले आफ्नै तर्फबाट बोल्दछ, उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ, त्यो सत्य हो, र उसमा छल हुँदैन। के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन्? तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दछौ?” भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ?” येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “एउटा काम मैले गरें, अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। मोशाले तिमीहरूलाई खतनाको रीति दिएका छन् (हुन त, त्यो मोशाको तर्फबाट त होइन, तर पिता-पुर्खाहरूबाट हो), र पनि शबाथ-दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ। मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ? मुख हेरेर होइन, तर ठीक किसिमले इन्साफ गर।”
यूहन्ना 7:14-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। यहूदीहरूले छक्क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्त गरे?” येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन। के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?” भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्क पर्दछौ। तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथमा बालकको खतना गर्दछौ। अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ? केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”
यूहन्ना 7:14-24 पवित्र बाइबल (NERV)
त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?” येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो। यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ। कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन। के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?” मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ। मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ। यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ? बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
यूहन्ना 7:14-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो चाड आधा हुन लाग्दा येशूले मन्दिरमा गएर शिक्षा दिन लाग्नुभयो। यहूदी अगुवाहरूले ज्यादै छक्क परेर भने, “यो मानिसले नसिकीकनै कसरी यति धेरै जान्ने भयो?” तिनीहरूलाई जवाफ दिँदै येशूले भन्नुभयो, “मैले सिकाएका कुरा मेरा होइनन्, तर मलाई पठाउनुहुने परमेश्वरका हुन्। परमेश्वरको इच्छाअनुसार काम गर्न खोज्नेहरूले चाहिँ यो शिक्षा परमेश्वरतर्फबाट आएको हो कि मेरो आफ्नै शिक्षा हो, त्यो थाहा पाउनेछन्। आफ्नै तर्फबाट बोल्नेले त आफ्नै आदर खोज्छ, तर आफूलाई पठाउनुहुनेको आदर खोज्नेचाहिँ इमानदार मानिस हो। उसमा अलिकति पनि छलकपट हुँदैन। के मोशाले तिमीहरूलाई व्यवस्था दिएका होइनन्? तैपनि तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। किन तिमीहरू मलाई मार्न खोज्दै छौ?” भीडमा रहेका मानिसहरूले भने, “तिमीलाई भूत चढेको छ, तिमीलाई कसले मार्न खोज्यो र?” येशूले भन्नुभयो, “मैले एउटा अचम्मको काम गर्दा तिमीहरू सबै छक्क पर्दछौ? अब हेर, मोशाले खतना गर्नुपर्छ भन्ने आज्ञा दिए। वास्तवमा त यो काम मोशाले सुरु गरेका होइनन्, यो त तिमीहरूका पुर्खाले सुरु गरेका थिए। तर विश्रामको दिनमा पनि तिमीहरूले आफ्ना छोराहरूको खतना गर्छौ। अब तिमीहरूले मोशाले दिएका व्यवस्था भङ्ग नहोस् भनेर विश्रामको दिनमा खतना गर्छौ भने मैले विश्रामको दिनमा एउटा मानिसलाई पूरै निको पार्दाचाहिँ तिमीहरू किन रिसाउँछौ त? देखावटी रूपले न्याय नगर, तर असल न्याय गर्ने गर।”