YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7

7
येशू छाप्रो-वासको चाडमा जानुभएको
1यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो; किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए। 2तर यहूदीहरूको छाप्रो-वासको चाड नजिकै आएपछि 3येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्‍तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्। 4समाजमा ख्याति प्राप्‍त गर्न चाहने कसैले पनि गुप्‍तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।” 5किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।
6त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो लागि अझै ठीक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठीकै हुन्छ। 7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ; किनकि यसले जे गर्दैछ, त्यो दुष्‍ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु। 8तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्‍नँ; किनकि मेरो निम्ति ठीक समय अझै आएको छैन।” 9यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
10तर उहाँका भाइहरू चाडमा गएपछि, उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो। 11चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
12भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।”
अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।” 13तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए।
चाडमा येशूले शिक्षा दिनुभएको
14अब चाड आधा-आधी भइसकेपछि नै येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। 15यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरीकन पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?”
16येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन; यो ता उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। 17यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो अथवा म आफैले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। 18जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ; तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो, उनमा केही झूट हुँदैन। 19के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
20भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
21येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा आश्‍चर्य काम गरें, अनि तिमीहरू सबै छक्‍क पर्दछौ। 22तर मोशाले तिमीहरूलाई खतनाको रीति दिएका (हुन ता त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले विश्रामदिनमा बालकको खतना गर्दछौ। 23अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर विश्रामदिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एकजना मानिसलाई विश्रामदिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ? 24केवल मुख हेरेर न्याय गर्न छोड, र ठीक न्याय गर।”
के येशू नै ख्रीष्‍ट हुन्?
25तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्‍ति यिनी नै होइनन् र? 26अनि यिनी त त्यहीं छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्, तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो? 27तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा त उहाँ कहाँबाटका हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
28तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; अनि म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ, 29तर म उहाँलाई चिन्दछु; किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
30यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन; किनकि उहाँको समय अझै आइपुगेको थिएन। 31तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुभएपछि उहाँले यी मानिसले गरेका भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहुनेछ र?”
32भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
33येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग म रहन्छु, अनि त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु। 34तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ; र म जहाँ छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
35यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? 36यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
37चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्। 38जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” 39यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन; किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
40उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस साँच्‍चै अगमवक्‍ता हुन्।”
41अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।”
तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र? 42के धर्मशास्त्रमा ख्रीष्‍ट दाविदको वंशबाट र दाविदकै शहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?” 43यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो। 44कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
यहूदी अगुवाहरूको अविश्‍वास
45अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो ता कुनै पनि मानिसले कहिल्यै बोलेन।”
47फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? 48के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र? 49तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
50निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, र जो तिनीहरूमध्येकै एक थिए, तिनले भने, 51“के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची, र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
52तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर; र तिमीले थाहा पाउनेछौ कि, गालीलबाट कुनै अगमवक्‍ता निस्किँदैन।”
53 # 7:53 यूह 7:53–8:11 प्राचीन पा.लि.हरूमा यी पदहरू पाइँदैनन् त्यसपछि सबैजना आ-आफ्ना घर गए।

अहिले सेलेक्ट गरिएको:

यूहन्‍ना 7: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्