YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:60-71

यूहन्‍ना 6:60-71 NCV

यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो। उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।” त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।” तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!” (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)

यूहन्‍ना 6 पढ्नुहोस्