YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:16-33

यूहन्‍ना 16:16-33 NCV

“केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।” उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्‍नुभएको अर्थ के हो?” तिनीहरूले “उहाँले ‘केही बेर’ भन्‍नुभएको अर्थ के हो? उहाँले के भन्दैहुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौं,” भनी सोधपुछ गरिरहे। तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै एकापसमा सोधपुछ गरिरहेका छौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्‍ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्। तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ, अनि कसैले पनि तिमीहरूको आनन्द खोस्‍नेछैन। अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरो नाउँमा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्दपूर्ण हुनेछ। “म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर एउटा समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु। त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति विन्ती गर्नेछु भनी भनेको होइनँ। पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्‍वरबाट आएको हुँ भनी विश्‍वास गरेका छौ। म पिताबाट आएँ, र संसारमा प्रवेश गरें; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।” त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्‍टसँग र दृष्‍टान्‍तविना नै बोल्दैहुनुहुन्छ। अब हामीले बुझ्न सक्यौं, कि तपाईं सबै कुरा जान्‍नुहुन्छ; अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि तपाईंको निम्ति छैन। यसै कुराले तपाईं परमेश्‍वरबाट आउनुभएको हो भनी हामीलाई विश्‍वास दिलाउँछ।” येशूले जवाफ दिनुभयो, “बल्‍ल तिमीहरूले विश्‍वास गर्दछौ? तर समय आइरहेको छ, वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्‍ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनकि मेरा पिता मसँग हुनुहुन्छ। “ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।”

यूहन्‍ना 16 पढ्नुहोस्