“थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि तिमीहरूले मलाई देख्नेछौ।” “उहाँले ‘थोरै समयपछि मलाई देख्ने छैनौ, फेरि केही समयपछि मलाई देख्नेछौ, फेरि म पिताकहाँ जाँदै छु’ पनि भन्दै हुनुहुन्छ, “यो के भनेको?” भन्दै उहाँका चेलाहरूले आपसमा सोधे। यो थोरै समयपछि भनेको के हो? उहाँले केको बारेमा भन्दै हुनुहुन्छ, हामीहरूले त बुझेनौं,” भनेर तिनीहरू अलमल्ल परे। तिनीहरूले यो कुराको बारेमा सोध्न चाहन्छन् भन्ने जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले भने ‘थोरै समयपछि तिमीहरूले मलाई देख्नेछैनौ अनि केही समयपछि फेरि देख्नेछौ।’ के यही कुराबारे तिमीहरूले आपसमा सोधपुछ गरेका होइनौ? साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू रुने र कराउनेछौ, तर दुनियाँचाहिँ खुसी हुनेछ। तिमीहरू दु:खी हुनेछौ, तर तिमीहरूको दु:ख र पीर आनन्दमा फेरिनेछ। नानी पाउन आँट्दा आमा कष्टले छटपटिन्छिन्, तर नानी पाउनेबित्तिकै ‘संसारमा एउटा बालकको जन्म भएको छ’ भन्ने हर्षले तिनी सबै दु:ख बिर्सेर खुसी हुन्छिन्। तिमीहरूलाई पनि त्यस्तै हुँदै छ। अहिले तिमीहरू शोक गर्छौ, तर म तिमीहरूलाई फेरि भेट्न आउँदा तिमीहरूको हृदय आनन्दले भरिनेछ र यस्तो खालको आनन्द तिमीहरूबाट कसैले पनि खोसेर लैजान सक्नेछैन। त्यति बेला तिमीहरूले मसँग केही पनि सोध्नेछैनौ। म साँच्चै भन्छु, मेरो नाउँमा जे मागे तापनि पिताले तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म त तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ। माग त तिमीहरूले पाउनेछौ अनि तिमीहरूको आनन्द पूरा हुनेछ। “अहिलेचाहिँ म तिमीहरूलाई दृष्टान्तको कथा दिएर कुरा गर्दै छु, तर पछि भने मैले तिमीहरूलाई पिताको बारेमा दृष्टान्त नदिई छर्लङ्ग हुने गरी भन्नेछु। त्यस बेला तिमीहरू आफैंले मेरो नाउँमा माग्नेछौ, मैले तिमीहरूको लागि पितासँग मागिदिनु पर्नेछैन। पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरबाट आएको हुँ भनेर विश्वास गरेका छौ। म पिताबाटै संसारमा आएको हुँ र अहिले संसारलाई छोडेर फेरि पिताकहाँ नै फर्किंदै छु।” तब चेलाहरूले येशूलाई भने, “अहिले पो तपाईं दृष्टान्त नदिई हामीलाई सोझै भन्दै हुनुहुन्छ। अब हामी जान्दछौ, तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई अब कसैले प्रश्न गर्नुपर्दैन। त्यसैले तपाईं परमेश्वरबाट नै आउनुभएको हो भनेर हामी विश्वास गर्छौं।” येशूले जवाफ दिनुभयो, “अहिले त तिमीहरू विश्वास गर्छौ। तर समय आउँदै छ र नजिकै आइसक्यो, त्यति बेला तिमीहरू सबै तितरबितर हुनेछौ। तिमीहरू आ-आफ्ना घरमा जानेछौ र मलाई एक्लै छोड्नेछौ। तर हेर, म एक्लै हुनेछैनँ किनभने मसँग मेरा पिता हुनुहुन्छ। “तिमीहरू ममा रहेर शान्ति पाउन सक भनेर नै मैले तिमीहरूलाई यी सबै कुरा भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहसिलो होओ किनभने मैले संसारलाई जितिसकेको छु।”
यूहन्ना 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:16-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू