YouVersion लोगो
खोज आइकन

यर्मिया 51:15-46

यर्मिया 51:15-46 NCV

“याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो। जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ, अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ। “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन। ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्। उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो। “तँ मेरो युद्धको मुङ्ग्रो, मेरो लडाइँका निम्ति हतियार होस्; तँद्वारा म राष्ट्रहरूलाई चकनाचुर पार्छु; र तँद्वारा नै म राज्यहरूलाई नष्‍ट गर्छु। तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु; तँद्वारा म रथहरू र रथ-सवारहरूलाई चकनाचुर पार्छु। तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म वृद्ध मानिस र जवानलाई चकनाचुर पार्छु। तँद्वारा म जवान केटाहरू र कन्या केटीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु। “तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्‍ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्‍ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु। तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ। “देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्‍नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ। त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर। देश थरथर काम्छ र छटपटिन्छ; किनकि बेबिलोनको विरुद्धमा याहवेहको उद्देश्य अटल छ! बेबिलोनको देशलाई उजाड पार्नलाई, त्यहाँ कोही पनि नबसून्। बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्; तिनीहरू आफ्ना किल्‍लाहरूमा रहन्छन्। तिनीहरूको बल शिथिल भएको छ; तिनीहरू दुर्बल भएका छन्। त्यसका वासस्थानहरूमा आगो लगाइएका छन्; त्यसका मूलढोकाका गजबारहरू भत्काइएका छन्। एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्; अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।” सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।” “बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ; त्यसले हामीलाई अलमलमा पारिदिएको छ। त्यसले हामीलाई रित्तो भाँडाजस्तै बनाइदिएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलेको छ, र त्यसले हाम्रो स्वादिष्‍ठ भोजनले आफ्नो पेट भरेको छ; त्यसपछि हामीलाई बान्ता गरेर फ्याँकिदिएको छ। सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्‍ने मानिसहरूमाथि परोस्”। यसकारण याहवेह भन्‍नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु। बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्‍लाको पात्र, कोही पनि नबस्‍ने एउटा उजाड ठाउँ हुनेछ। त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्। तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु। “शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ! बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्। त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्‍ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन। म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ। “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग। जब देशमा हल्‍ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्‍ला र अर्को वर्ष अर्कै हल्‍ला आउँछ; देशमा अत्याचारको हल्‍ला र शासकको विरुद्धमा शासक भएको हल्‍ला।

यर्मिया 51 पढ्नुहोस्