YouVersion लोगो
खोज आइकन

यर्मिया 51:15-46

यर्मिया 51:15-46 सरल नेपाली

परमप्रभुले आफ्‍नो सामर्थ्‍यले पृथ्‍वी बनाउनुभयो, उहाँले आफ्‍नो बुद्धिद्वारा संसार सृजनुभयो अनि उहाँले आकाश फैलाउनुभयो उहाँको आज्ञाले पानी आकाशमाथि गर्जन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो छेउबाट बादल उठाउनुहुन्‍छ। उहाँले वर्षामा बिजुली चम्‍काउनुहुन्‍छ र आफ्‍नो भण्‍डारबाट बतास चलाउनुहुन्‍छ। हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू भ्रममा फसेका छन् किनभने तिनीहरूले बनाएका देवी-देवताहरू नीर्जिव र झूटा छन्। ती मूर्तिहरू सबै व्‍यर्थका छन् र परमप्रभु न्‍याय गर्न आउनहुँदा ठट्टा गर्न लायकका छन्, ती मूर्तिहरू नष्‍ट हुनेछन्। याकूबका परमेश्‍वर तिनीहरूझैँ हुनुहुन्‍न; उहाँले नै सबै थोक बनाउनुभयो र उहाँले इस्राएललाई आफ्‍नै निज प्रजा बनाउनलाई चुन्‍नुभएको छ। सर्वशक्तिमान् परमप्रभु उहाँको नाम हो। परमप्रभु भन्‍नुहुन्‍छ, “हे बेबिलोन तँ मेरो घन र लडाइँको मेरो अस्‍त्र-शस्‍त्र होस्। मैले तँलाई राज्‍य-राज्‍य र जाति-जातिलाई चकनाचुर पार्न उपयोग गरें। घोडाहरू र घोडचढीहरूलाई, रथहरू र सारथीहरूलाई तँद्वारा टुक्रा-टुक्रा पार्न, पुरुषहरू र स्‍त्रीहरूलाई मार्न, बुढा-पाका र युवाहरूलाई काट्‍न, वृद्ध र तन्‍नेरीहरूलाई घात गर्न, गोठालाहरू र उनका बगालहरू मार्न, हलो जोत्‍नेहरू र त्‍यसका घोडाहरूलाई तँद्वारा घात गर्न, शासकहरू र भारदारहरूलाई टुक्रा-टुक्रा पार्न मैले तँलाई उपयोग गरें।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले यरूशलेममाथि गरेका सबै खराबीका कारण म बेबिलोनिया र त्‍यसका बासिन्‍दाहरूलाई तिमीहरूकै आँखासामुन्‍ने बदला लिनेछु। ए बेबिलोन, तँ सारा संसारलाई नाश गर्ने पर्वतसरि छस् तर म परमप्रभु तेरा शत्रु हुँ। म तँलाई समातेर भूइँमा पछारिदिनेछु र खरानीबीच छोडिराख्‍नेछु। तँ ध्‍वस्‍त भएपछि तँबाट एउटै ढुङ्गा पनि फेरि घर बनाउन चलाइनेछैन। सदासर्वदाको लागि तँ मरुभूमिझैँ हुनेछस्। म परमप्रभु बोलेको छु। “हमला गर्न सङ्‌केत देओ! जाति-जातिले सुन्‍ने गरी तुरही फुक! बेबिलोनका विरुद्धमा लडाइँ गर्न ती जातिहरूलाई तयार पार! आरारात, मिन्‍नी र अशकनज राज्‍यहरूलाई आक्रमण गर्न भन। लडाइँ अघि बढाउन एउटा सेनापति खटाओ। सलहका बथानसरि घोडाहरू लिएर आओ। बेबिलोनसित लडाइँ गर्न सबै जातिहरू तयार पार। मादीका राजाहरू, तिनका अगुवा र भारदारहरू र तिनीहरूका अधीनमा भएका सबै देशहरूका सेनाहरूलाई बोलाउन पठाओ। बेबिलोन देशलाई कोही पनि बास नगर्ने उजाड-भूमि बनाउने परमप्रभुको जुक्‍ति उहाँले पूरा गर्न लाग्‍नुभएको हुनाले पृथ्‍वी काम्‍दछ र थरथरी हुँदछ। बेबिलोनका सिपाहीहरूले लड्‍न छोडे र किल्‍लाभित्रै बसिरहेका छन्। तिनीहरूको साहस हरायो र तिनीहरू स्‍त्रीहरूझैँ भएका छन्। सहरका मूल-ढोकाहरू तोडिएका छन् र घरहरू आगो लागिसकेका छन्। बेबिलोनका राजालाई त्‍यसको पूरा सहर कब्‍जामा छ भनी सुनाउन एउटापछि अर्को समाचार लाने मानिसहरू गइरहेका छन्। शत्रुले नदीका घाटहरू घेरामा पारेको छ र किल्‍लाहरूमा आगो लाइदिएको छ। बेबिलोनका सिपाहीहरू डरले साह्रै आत्तिएका छन्। अब चाँडै शत्रुका सेनाहरूले तिनीहरूलाई टुक्र्याएर दाइँ गर्ने ठाउँमा अन्‍न कुल्‍चेझैँ कुल्‍चनेछन्। म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर बोलेको छु।” बेबिलोनका राजाले यरूशलेमलाई काटेर खायो। त्‍यसले गाग्रो रित्याएझैँ त्‍यसलाई रित्यायो र राक्षसले झैँ त्‍यसलाई निल्‍यो। आफूले चाहे जति लिएर बाँकी त्‍यसले फालिदियो। सियोनका बासिन्‍दाहरूले यसो भनून्, “हाम्रो रगत बगाएको निम्‍ति बेबिलोनिया जिम्‍मेवार ठहरियोस्!” अनि यरूशलेमका बासिन्‍दाहरूले चाहिँ यसो भनून्, “हामीले भोगेको कष्‍टको निम्‍ति बेबिलोन जिम्‍मेवार ठहरियोस्!” यसकारण परमप्रभुले यरूशलेमवासीहरूलाई यसो भन्‍नुभयो, “म तेरो पक्ष लिनेछु र तेरा शत्रुहरूलाई तँमाथि गरेको थिचो-मिचोको बदलामा दण्‍ड दिनेछु। म बेबिलोनका पानीका मुहान सुकाइदिनेछु र त्‍यसका नदीहरू सुख्‍खा पारिदिनेछु। त्‍यो देश भत्‍केर थुप्रेको रास बन्‍नेछ, जहाँ जङ्गली जनावरहरूले बास गर्नेछन्। त्‍यो हेर्दा डरलाग्‍दो ठाउँ हुनेछ र त्‍यहाँ कसैले बास गर्नेछैन। त्‍यसलाई देख्‍ने हरेक मानिस भयभीत हुनेछ। बेबिलोनका सबै बासिन्‍दाहरू सिंहझैँ गर्जनेछन् र सिंहका डमरुझैँ ङ्यार्रडुर्र गर्नेछन्। के तिनीहरू लोभी भएका छन्? म तिनीहरूका निम्‍ति एउटा भोज लाउनेछु र तिनीहरूलाई मताएर हर्षित तुल्‍याउनेछु। तिनीहरू निदाउनेछन् र कहिल्‍यै निद्राबाट जाग्‍नेछैनन्। म तिनीहरूलाई थुमा, बोका र भेडाहरूझैँ काट्‍न लैजानेछु। म परमप्रभु बोलेको छु।” बेबिलोनबारे परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “सारा संसारले प्रशंसा गरेको सहर शत्रुका हातमा परेको छ। जाति-जातिहरूका बीचमा बेबिलोन एउटा डरलाग्‍दो दृश्य बनेको छ। समुद्र बढेर आई बेबिलोनलाई गर्जिरहेका छालहरूले डुबाएको छ। सहरहरू डरलाग्‍दो दृश्‍य बनेका छन् र पानी नभएको सुख्‍खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन। बेबिलोनको बाल देवतालाई म दण्‍ड दिनेछु र त्‍यसले लुटेका थोकहरू छोड्‍न लाउनेछु। जाति-जातिहरू फेरि त्‍यहाँ ताँती लगाई त्‍यसलाई पुज्‍न जानेछैनन्। “बेबिलोनका पर्खालहरू भत्‍केका छन्। ए इस्राएलका मानिसहरू हो, त्‍यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्‍नो प्राण बचाउन भाग! आफ्‍नो साहस नहराओ अथवा होहल्‍लाको खबर सुनेर नडराओ। हरेक वर्ष नयाँ-नयाँ होहल्‍लाको खबर फैलन्‍छ। देशमा उपद्रव भएको र राजा-राजाको बीच लडाइँ भएको होहल्‍लाको खबर निक्‍लँदछ।

यर्मिया 51 पढ्नुहोस्