तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ। याहवेह तपाईंका परमेश्वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।” तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। याहवेह हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गर्नेछौँ।” अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो। यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए। यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ: ‘यदि तिमीहरू यस देशमै रह्यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु। बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
यर्मिया 42 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 42:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू