तब फौजका सबै अधिकृतहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा येजन्याह, सानाभन्दा सानादेखि लिएर ठूलाभन्दा ठूला सबै मानिसहरूसमेत गरी यर्मिया अगमवक्ताकहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस्, र परमप्रभु तपाईंका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति बिन्ती गरिदिनुहोस्। किनकि तपाईं आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं। परमप्रभु तपाईंका परमेश्वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्।”
यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले बिन्ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्नुहुन्छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।”
तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। चाहे त्यो अनुकूल होस् वा नहोस्, परमप्रभु हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौं, उहाँको वचन हामी पालन गर्नेछौं, ताकि परमप्रभु हाम्रा परमेश्वरको कुरा हामीले मानेकाले हाम्रो भलो होस्।”
दश दिनपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो। तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए। यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर, जसको सामुन्ने तिमीहरूले मलाई आफ्नो बिन्ती चढ़ाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ: ‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु। बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूमाथि कृपा गर्नेछु, र त्यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्नेछ’।