YouVersion लोगो
खोज आइकन

यशैया 45:1-13

यशैया 45:1-13 NCV

“याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्छ, मैले त्यसको दाहिने हात थामेको छु, त्यसको सामु जातिहरूलाई पराजित गर्न; अनि राजाहरूको हतियार खोस्‍न, मूलढोकाहरू बन्द नहोस् भनेर त्यसको सामु ढोकाहरू खोलिदिन: म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु। म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्‍त स्थानमा जम्मा गरेका धन दिनेछु। मेरो सेवक याकोब, र मैले चुनेको इस्राएलको खातिर तैँले मलाई स्वीकार नगरे तापनि मैले तँलाई नाम काढेर बोलाएको छु; र तँलाई सम्मानको उपाधी प्रदान गरेको छु। म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्‍वर छैन; मबाहेक अरू कोही परमेश्‍वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन। म ज्योति र अन्धकार सृष्‍टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्‍टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ। “हे आकाश हो, माथिबाट धार्मिकताको वृष्‍टि खन्या; बादलहरूले त्यो बर्साओस्; पृथ्वी चौडा गरी उघारिओस्, र उद्धार उम्रेर आओस्; त्यससित धार्मिकता बढोस्; म याहवेहले नै यसलाई सृष्‍टि गरेको हुँ। “धिक्‍कार त्यसलाई, जसले आफ्नो सृष्‍टिकर्तासित झगडा गर्छ! त्यो पनि भुइँमा भएका माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो। के माटोले कुमालेलाई ‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ? के तेरो कामले ‘त्यसको हातै छैन’ भनी भन्छ? धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ। “आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्‍वर, त्यसलाई बनाउनुहुने याहवेह भन्‍नुहुन्छ— के मेरो सन्तानको विषयमा तँ मलाई प्रश्न गर्छस्, अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्? पृथ्वी बनाउने र त्यसमा मानिसहरूलाई सृष्‍टि गर्ने म नै हुँ। मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ। म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु; म त्यसका मार्गहरू सोझा बनाइदिनेछु; त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ; अनि देश निकाला भएका मेरा मानिसहरूलाई मुक्त गर्नेछ, तर कुनै मूल्य र पुरस्कारको लागि होइन, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।”

यशैया 45 पढ्नुहोस्

YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ