YouVersion लोगो
खोज आइकन

यशैया 45:1-13

यशैया 45:1-13 सरल नेपाली

परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्‍न पठाउनुहुन्‍छ, परमप्रभुले तिनको निम्‍ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्‍नुहुन्‍छ, “म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु। म तँलाई गुप्‍त र अँध्‍यारो ठाउँहरूबाट धन-सम्‍पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्‍वरले तँलाई नामद्वारा बोलाउनुभएको छ। मेरो सेवक इस्राएल, मैले चुनेको जातिलाई, सहायता दिन मैले तँलाई नियुक्त गरेको छु। तैँले मलाई नचिने पनि मैले तँलाई ठूलो सम्‍मान् दिएको छु। “म परमप्रभु हुँ, अरू कुनै परमेश्‍वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु। म परमप्रभु हुँ र अर्को कुनै परमेश्‍वर छैन भनी संसारको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु। म उज्‍यालो र अँध्‍यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्‍याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु। वर्षाझैँ म आकाशबाट धार्मिकता पठाउनेछु, त्‍यो लिनलाई पृथ्‍वीले मुख उघार्नेछ। अनि संसारमा उद्धार र धार्मिकताको फूल फुल्‍नेछन्। म परमप्रभुले यो कुरा गर्ने नै छु।” एउटा माटोको भाँडा, जुन अरू भाँडाहरूजस्‍तै छ, के त्‍यसले कुमालेसित विवाद गर्ने साहस गर्न सक्‍छ? के माटोले कुमालेलाई तिमीले के गर्दै छौ भनी सोध्‍दछ? के माटाको भाँडाले मलाई बनाउने केही सीप छैन भनी भन्‍छ? धिक्‍कार त्‍यसलाई! जसले आफ्‍ना आमा-बुबालाई “किन मलाई यस्‍तो जन्‍म दिनुभयो?” भनी गुनासो गर्छ। इस्राएलका पवित्र परमेश्‍वर, भविष्‍यलाई रूप दिनुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मेरा छोरा-छोरीहरूबारे मलाई प्रश्‍न गर्ने तेरो केही हक छैन अथवा मैले के गर्नुपर्छ, सो भन्‍ने पनि तेरो केही हक छैन! पृथ्‍वी बनाउने म नै हुँ, त्‍यसमा बसोबास गर्ने मानिसहरू बनाउने म नै हुँ। आफ्‍नो शक्तिले मैले आकाश फैलाएँ, घाम, जून र ताराहरू म आफ्‍नो अधीनमा राख्‍दछु। मैले नै कोरेसलाई काम गर्नलाई अनि मेरो अभिप्राय पूरा गर्न र सबै कुरा ठीक पार्न चम्‍काएँ। त्‍यसले हिँड्‍ने हरेक बाटो म सोझो पार्नेछु, त्‍यसले मेरो सहर यरूशलेम फेरि बसाल्‍नेछ र कैदमा परेका मेरा प्रजालाई छुटकारा दिनेछ। यो काम गर्न कसैले त्‍यसलाई ज्‍याला वा घुस दिनुपर्नेछैन।” सर्वशक्तिमान् परमप्रभु बोल्‍नुभएको छ।

यशैया 45 पढ्नुहोस्