“परमप्रभुले आफ्नो अभिषिक्त कोरेसलाई यही भन्नुहुन्छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्याउन, त्यसको सामुन्ने ढोकाहरू खोल्न, र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु: म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्नेछु। म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्वीकार नगरेको भए तापनि मैले तँलाई सम्मानको पद दिएको छु। म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन। मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।
“हे माथिको आकाश, धार्मिकताको वृष्टि खन्या। बादलले त्यो बर्साओस्। पृथ्वी विस्तृत रूपमा खोलिओस्, मुक्ति उत्पन्न होस्, धार्मिकता साथसाथै बढ्न पाओस्। म, परमप्रभुले नै यो सृष्टि गरेको हुँ।
“धिक्कार त्यसलाई, जसले आफ्ना सृष्टिकर्तासित झगड़ा गर्छ, त्यो जो जमिनमा भएका खपटाहरूमध्ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्?’ भनी सोध्छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्छ? धिक्कार त्यसलाई, जसले बुबालाई भन्छ, ‘तपाईंले केलाई जन्माउनुभयो? अथवा आमालाई भन्छ, ‘तपाईंले के जन्माउनुभयो?”
“इस्राएलका परमपवित्र र यसका सृष्टिकर्ता परमप्रभु भन्नुहुन्छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्न सोध्छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्छौ? पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु। कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्यसका सबै बाटो सीधा पार्नेछु। त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”