हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन। ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला। अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्ने कुरामा ध्यान देओ। पछिबाट आफ्नो पैतृक अधिकार आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो। तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्न नपरोस् भनी बिन्ती गरेका थिए, किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्ने आदेश तिनीहरूले सहन सकेनन्। त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।”
तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ, अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा, नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
होसियार रहो! परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ? त्यस बेला उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एक पल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।” त्यो “फेरि एक पल्ट” भन्ने शब्दहरूले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।
यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ; किनकि हाम्रो “परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।”